सिरहा । सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनाबाट प्रहरीले ९७.५३ ग्राम खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक दीपक खरेलको कमाण्डमा खटिएको टोली र लागुऔषध ब्युरो गोलबजारका प्रहरी सहायक निरीक्षक जोगेन्द्र साहसमेतको टोलीले शनिबार बिहान करिब ४ बजे मुनेश्वर मण्डलको घरमा खानतलासी गर्दा लागुऔषध बरामद गरेको हो।
प्रहरीका अनुसार भारतबाट खरिद गरी ल्याएको खैरो हिरोइन बिक्रीका लागि लुकाइछिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा मण्डलको घरमा खानतलासी गरिएको थियो। खानतलासीका क्रममा मुनेश्वर मण्डलको पाइन्टको गोजीबाट ९७.५३ ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा उपस्थित रहेका मुनेश्वर मण्डल, अरविन्द कुमार सिंह, वीरेन्द्र कुमार साह र रितेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक दीपक खरेलले गोलबजार क्षेत्रमा लागुऔषधको कारोबार तथा प्रयोग नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्दै आएको बताएका छन्। प्रहरीले लागुऔषध कारोबार, ओसारपसार तथा प्रयोगविरुद्ध निगरानी र कारबाहीलाई थप कडाइ गर्ने जनाएको छ।









