काठमाडौं । स्विट्जरल्याण्डको उत्तरी भागमा आइतबार बिहानै एक कार्यक्रमका क्रममा भएको गोलीहानाहानमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
स्थानीय प्रहरीले यसबारे जानकारी दिएको हो। आरगाउ क्यान्टोनल प्रहरीले एक विज्ञप्ति जारी गर्दै गोली चलाउने अज्ञात अभियुक्तको खोजी कार्य जारी रहेको जनाएको छ।
प्रहरीका अनुसार गोलीहानाहान हुनुको कारण र घटनाको पूरा विवरण अझै स्पष्ट भइसकेको छैन।
गोलीहानाहान आरगाउको साचेन क्षेत्रस्थित एक मैदान नजिकै भएको प्रहरीले स्विस सञ्चारमाध्यमलाई बताएको छ, जुन ज्युरिखबाट करिब ४६ किलोमिटर पश्चिममा पर्दछ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सो क्षेत्रमा आइतबार बिहानैसम्म ‘रेभ पार्टी’ चलिरहेको थियो।











