काठमाडौं । कृष्णप्रतिको प्रेम, भक्ति र समर्पणलाई संगीत, नृत्य तथा अभिनयमार्फत प्रस्तुत गरिएको नयाँ नेपाली भजन ‘यता श्यामले वंशीको तान छाडे’ सार्वजनिक भएको छ।
कृष्ण जन्माष्टमीलाई लक्षित गरी सार्वजनिक गरिएको भजनमा कृष्णको बाँसुरीको धुन र गोपिनीहरूको प्रेमलाई मुख्य विषय बनाइएको छ।
भजन Sanvi & Sujit Yadav Official YouTube च्यानल तथा विभिन्न ओटिटी अडियो प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो।
भजनमा सानवी यादवको स्वर, कुन्ती देवी भट्टराईको शब्द र मनराजा नकर्मीको संगीत रहेको छ। गीतको एरेन्ज भुपेन्द्र रायमाझी तथा मिक्सिङ–मास्टरिङ हरि सयामीले गरेका हुन्।
सानवी यादव ‘द भ्वाइस अफ नेपाल – सिजन ३’ मा कोच तथा दर्शकहरूको प्रशंसा बटुल्न सफल गायिका हुन्। उनले यसअघि विभिन्न नेपाली, मैथिली तथा भोजपुरी गीतहरूमा स्वर दिइसकेकी छिन्। विविध भाषाका गीतमा आफ्नो गायन क्षमता प्रस्तुत गर्दै आएकी सानवीले यस भजनमार्फत कृष्णभक्तिको भावलाई समेत प्रभावकारी रूपमा प्रस्तुत गरेकी छिन्।
भिडियोको कोरियोग्राफी तथा निर्देशन राजीव समरले गरेका छन् भने छायांकन प्रेम लामाले गरेका छन्। भिडियोमा सानवी यादव, अक्षत यादव, अनुश्री रावल, डिम्पल नेपाल, प्रतिष्ठा भट्ट र शिखा थापालगायत कलाकारको अभिनय तथा नृत्य देख्न सकिन्छ।
भिडियो सम्पादन तथा कलर देवेन्द्र कुशवाहाले गरेका छन् भने निर्माण व्यवस्थापन सुजित कुमार यादवले सम्हालेका छन्। भजन सार्वजनिक भएसँगै निर्माण पक्षले दर्शक–श्रोतासँग प्रतिक्रिया दिन, भिडियो हेर्न तथा शेयरमार्फत कलाकार र सिर्जनाकारलाई सहयोग गर्न आग्रह समेत गरेको छ।








