सप्तरीमा करिब डेढ महिनाको अवधिमा ९ हजारभन्दा बढी मतदाता थपिएका छन् ।
स्थानीय तहको निर्वाचन पश्चात निर्वाचन आयोगले मतदाता नामावली शंकलन सुरुगरेपछि प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएको दिनसम्ममा सप्तरीमा नौ हजार एक सय १४ जनाको नाम संकलन भएको हो ।
असार १ गतेदेखि यही साउन १९ गतेसम्म निर्वाचन आयोगले संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा चार हजार आठ सय ३९ पुरुष र चार हजार दुई सय ७५ महिला मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिए ।
निर्वाचन आधिकारी जोशीले निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम समावेश भएका नयाँ मतदाताको रुजु गरेर आज निर्वाचन आयोग पठाउने बताए ।
निर्वाचन आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएपछि मात्र जिल्लामा कति मतदाता पुगेको भन्न सकिने जोशीको भनाइ छ ।
सप्तरीमा जिल्लामा निर्वाचन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय कञ्चनरूप र बोदे बर्साइनबाट मतदाता नामावली संकलन गरेको थियो ।
स्थानीय तह निर्वाचनमा सप्तरीमा दुई लाख १३ हजार आठ सय ९२ पुरुष, एक लाख ९८ हजार पाँच सय ३२ महिला र २१ अन्य गरी चार लाख १२ हजार चार सय ४५ मतदाता थिए ।