काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बिहीबार गाजाको एक मात्र होली फ्यामिली क्याथोलिक चर्चमा ट्याङ्क आगलागी हुँदा तीन जनाको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन्।
बिहीबार गाजाको होली फ्यामिली क्याथोलिक चर्चमा इजरायली ट्याङ्कले आक्रमण गर्दा तीन जनाको मृत्यु भएको थियो र एक पादरी सहित दस जना घाइते भएका थिए। आक्रमण बिहान करिब १०:३० बजे (स्थानीय समय) भएको थियो।
यस चर्चमा सयौं विस्थापित मानिसहरूले आश्रय लिएका थिए। यस सम्बन्धमा नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुरा गरेका थिए। नेतान्याहूले भने ‘यो आक्रमण गल्तीले भएको थियो, जसमा चर्चमा गोला खसेको थियो।’
नेतान्याहूले भने, “प्रत्येक निर्दोष जीवनको क्षति एक भयानक क्षति हो।” इजरायली सेना आइडीएफले पनि अनुसन्धान पछि गोलाका टुक्रा गल्तिले चर्चमा खसेको बताएको छ । सेनाले नागरिक र धार्मिक स्थलहरूलाई क्षतिबाट जोगाउन सक्दो प्रयास गरेको दाबी गरेको छ।
इजरायली सेनाले गाजा शहरमा सैन्य कारबाहीको क्रममा गल्तिले चर्चमा गोलाबारी खसेको बताएको छ। यसबारे अनुसन्धान भइरहेको छ।
अमेरिकी ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भनिन् ‘यस आक्रमणको बारेमा ट्रम्प र नेतान्याहूबीच तनावपूर्ण कुराकानी भएको थियो।’
‘प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने कि क्याथोलिक चर्चमाथि आक्रमण गर्नु इजरायलीहरूको गल्ती थियो,” उनले भनिन्।
इटालीकी प्रधानमन्त्री जर्जियानो मेलोनीले गाजामा इजरायलले हालै गरेको आक्रमणको कडा निन्दा गरेकी छिन्। “गाजामा इजरायली आक्रमणले होली फेमिली चर्चलाई पनि लक्षित गरेको छ। महिनौंदेखि नागरिकहरूमाथि भएका यी आक्रमणहरू सहन सकिँदैन। कुनै पनि सैन्य कारबाहीले यो व्यवहारलाई जायज ठहराउन सक्दैन,” मेलोनीले एक्समा लेखे।
मेलोनीले मे महिनामा इजरायलले आफ्नो सैन्य कारबाहीमा अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्छ भनेकी थिइन् ।