काठमाडौं । भारतको तेलंगनाको कामारेड्डी प्रहरीले गत दुई दिनमा जिल्लाका तीन गाउँमा कम्तीमा २५० सडक कुकुरलाई विष दिई मारिएको घटनामा संलग्न एक व्यक्तिलाई पहिचान गरेको छ। कामारेड्डी प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार अभियुक्त किशोर पाण्डे बुधबार आन्ध्र प्रदेशमा फेला परेका छन्।
उनलाई निगरानी गर्न र नियन्त्रणमा लिन एक निरीक्षक तथा एक सह-निरीक्षकको टोली गठन गरिएको छ। अधिकारीले भने, ‘अभियुक्तलाई प्रहरीसमक्ष उपस्थित हुन नोटिस दिनुपर्नेछ। उनीसँग सोधपुछ गरेर यी हत्या घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरिनेछ।’ प्रहरीले भनेको छ ‘गाउँका बासिन्दाहरूले अहिलेसम्म उनलाई लुकाइराखेका छन् र अनुसन्धानमा सहयोग गरिरहेका छैनन्।’
जनवरी १२ मा पशु अधिकार कार्यकर्ता अदुलापुरम गौतमले दिएको उजुरीका आधारमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। उजुरीमा उनले विभिन्न गाउँमा सडक कुकुरलाई योजनाबद्ध रूपमा विष दिइएको आरोप लगाएका थिए। अभियुक्तलाई तीन जना सरपञ्चहरूले भाडामा लिएर हत्या गराएको दाबी गरिएको छ।
प्रारम्भिक अनुसन्धानले यी हत्या हालै डिसेम्बरमा सम्पन्न ग्राम पंचायत चुनावमा गरिएको सडक कुकुर र बाँदरको समस्या समाधान गर्ने वाचासँग सम्बन्धित रहेको देखाएको छ। प्रहरीले भनेका छन् ‘अभियुक्त गाउँमा गएर कुकुरलाई विषालु इन्जेक्सन लगाएका थिए, जसले कुकुरको तुरुन्तै मृत्यु भएको थियो।’
पशु चिकित्सक टोलीले शव उत्खनन गरेर पोष्टमार्टम गरेको छ। भिसेरा नमूना फरेन्सिक विज्ञान प्रयोगशालामा पठाइएको छ जसले मृत्युको वास्तविक कारण र प्रयोग गरिएको विषको पहिचान गर्नेछ।
यो घटना यसै महिनाको सुरुमा हनमकोंडा जिल्लामा भएको समान घटनापछि आएको हो, जहाँ शायमपेट र अरेपल्ली गाउँमा ३०० सडक कुकुर मारिएका थिए। सो घटनामा प्रहरीले दुई महिला सरपञ्च, उनीहरूका पति, ग्राम पंचायत सचिवहरू र भाडामा लिइएका दुई व्यक्तिलगायत नौ जनालाई मुद्दा दर्ता गरेको थियो।
शायमपेट प्रहरी निरीक्षक रञ्जित रावका अनुसार अभियुक्तहरूलाई भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा ३५ अन्तर्गत नोटिस दिइएको छ। अपराधको सजाय सात वर्षसम्म कैद हुने भएकाले तत्काल पक्राउ गरिएको छैन। उनले भने, “उजुरीमा ३०० कुकुर मारिएको दाबी भए पनि हालसम्मको अनुसन्धानले करिब ११० कुकुरको मृत्यु पुष्टि गरेको छ। पाँच कुकुरको पोष्टमार्टम गरिएको छ र नमूना एफएसएलमा पठाइएको छ।”
अधिकारीले थपे ‘हनमकोंडा घटनामा पनि कुकुरलाई विषालु इन्जेक्सन लगाइएको थियो। विषालु औषधि भरिएका इन्जेक्सन लामो काठको डण्डामा जडान गरेर कुकुरलाई टाढाबाट लगाइएको थियो। इन्जेक्सन लगाइएपछि एक मिनेटमै कुकुरको मृत्यु भएको थियो ।
प्रहरीले भवानिपेट, पलवनचा र फारिदपेट गाउँमा हत्या पुष्टि गरेको छ। अधिकारीहरूले जनाएअनुसार जनवरी १३, २०२६ मा भवानिपेट र पलवनचामा करिब १५० कुकुरको शव भेटिएको थियो। जनवरी १४ मा फारिदपेटमा थप ९० भन्दा बढी कुकुर मारिएको पुष्टि भएको छ, जसले कुल संख्या करिब २५० पुगेको छ










