काठमाडौं । मान्छेबाट यौन दुर्व्यवहार भोगेको विराटनगरको एक कुकुरलाई उद्वार गरिएको छ । पशुअधिकारकर्मी इरफान खानले सो कुकुरलाई बुद्ध एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याएर उपचार थालिएको जानकारी दिए । इरफान खान अवोध एवं वेवारिसे पशुप्राणीको हितमा काम गरिरहेका छन् ।
गर्भवती कुकुरलाई बन्धक बनाएर एक पुरुषले नियमितजसो यौनजन्य दूर्व्यवहार गर्दै आएको खुलासा भएको थियो । उक्त कुकुरलाई सिल्पिङ ट्याबलेट खुवाउने गरिएको इरफानले बताए । ‘उनको गर्भावस्था र उनलाई जबरजस्ती खुवाइएको निदाउने औषधिको ओभरडोजको कारणले के-कस्तो असर परेको छ, स्वास्थ्य जाँच गरिदैछ’ इरफानले भने।

उक्त कुकुरको नाम मिली भएको उनले उल्लेख गरेका छन् । ‘उनले भोगेको ट्रमाबाट निको हुन र बाँच्नका लागि म सक्दो प्रयास गर्नेछु’ इरफान भन्छन्, ‘उसले फेरि यस्तो पीडा भोग्न नपरोस् ।’
कुकुरको उद्वार गर्न, अपराधीलाई कारबाहीका लागि दबाब दिन उनीसँगै विश्वराम कार्की, एनिमल नेपाल, साहारा नेपालका सदस्य खटिएका थिए । साथै विराटनगरमै सामुदायिक पशुप्राणीको हेरचाह गरिरहेका एलिना प्रसाईंले पनि कुकुरलाई उद्वार गर्न सहयोग गरेकी थिइन् ।
अपराधीको खोजीका लागि प्रहरीसँग मिलेर काम गरिरहेको उनले जानकारी दिए ।











