काठमाडौं । आत्मदाहको प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ।
वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
नेपालीले बिहीबार दिउँसो १ः४५ बजे काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।
बिहीबार दिउँसो त्रिपुरेश्वरमा बाइक रोकेका बेला काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि उनले आफ्नै शरिरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका थिए ।
घटनास्थलमा खटिएका प्रहरी टोलीले तत्कालै आगो निभाएर उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको थियो ।
शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो ।
वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुर्याएको थियो । अस्पताल ल्याइएलगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको थियो ।
अस्पतालले उपलब्ध सबै स्रोत साधनबाट उपचार गरेपनि उनलाई जोगाउन नसकिएको जनाएको छ।
केहीबेर अघि मात्रै अस्पतालले पत्रकार सम्मेलनमा गणेशको स्वास्थ्य अवस्थाबारे अत्यन्तै नाजुक रहेको र जुनसुकै बेला थप बिग्रिन सक्ने जनाएको थियो ।
बिरामीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी समेत गरिएको थियो । तर, स्वास्थ्य अवस्था स्थिर नभएका कारण उनलाई स्थानान्तरण गर्न सम्भव नभएको अस्पतालले जनाएको थियो । चिकित्सकहरूको अथक प्रयासका बाबजुद अन्ततः उपचारकै क्रममा उनको निधन भएको हो ।
२५ वर्षीय नेपाली मुगुको सोरु गाउँपालिका वडा नं ०१ घर भई हाल भक्तपुरमा श्रीमती र एक छोरी सहित बस्दै आएका थिए । उनी पेसाले राइड सेयरिङ (पठाओ) थिए ।











