बर्लिन (रायटर्स) । जर्मन सरकारले गत महिना लिपजिग/हाले विमानस्थलमा भएको भनिएको ड्रोन आक्रमण प्रयासमा रुस जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। घटनापछि जर्मनीले रुसविरुद्ध विभिन्न कदम चाल्ने घोषणा गरेको छ, जसअन्तर्गत बर्लिनस्थित रुसी सांस्कृतिक केन्द्र बन्द गर्ने निर्णयसमेत गरिएको छ।
जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्टले प्रहरी अनुसन्धान, अपराधको प्रकृति तथा गुप्तचर सूचनालाई आधार बनाउँदा विमानस्थलमा भएको आक्रमण प्रयासमा रुसको संलग्नता पुष्टि हुने बताएका छन्। उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूले रुसी राज्यका निकायको तर्फबाट काम गरिरहेको संकेत गुप्तचर अनुसन्धानबाट प्राप्त भएको थियो।
डोब्रिन्टले भने, “प्रहरी अनुसन्धान, अपराधको ढाँचा र गुप्तचर सूचनालाई समग्रमा हेर्दा लिपजिग विमानस्थलमा भएको आक्रमण प्रयासमा रुस जिम्मेवार रहेको स्पष्ट हुन्छ।”
जर्मन विदेशमन्त्री योहान वाडेफुलले लिपजिगको घटना एक्लो घटना नभएको बताएका छन्। उनका अनुसार यो युरोपमा रुसले सञ्चालन गरिरहेको भनिएको ‘हाइब्रिड अपरेसन’को व्यापक ढाँचासँग मेल खान्छ।
घटनाको प्रतिक्रियास्वरूप जर्मनीले बोनस्थित रुसी महावाणिज्य दूतावास बन्द गर्ने तथा बर्लिनस्थित ‘रुसी हाउस’ सांस्कृतिक केन्द्रसँगको सम्झौता समाप्त गर्ने जनाएको छ।
यस्तै, जर्मनीले युरोपेली संघ (ईयू)भित्र थप रुसी नागरिकमाथि प्रतिबन्ध र यात्रा नियन्त्रण लगाउन पहल गर्ने तथा रुसको भनिएको ‘स्याडो फ्लीट’ माथि दबाब बढाउने योजना पनि सार्वजनिक गरेको छ।
जर्मनीको घोषणाप्रति रुसले भने आपत्ति जनाएको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बर्लिनको कदमलाई ‘रुसविरोधी कारबाही’ भन्दै त्यसको जवाफ दिने बताएकी छन्। तर, मस्कोले कस्तो प्रतिक्रिया दिने भन्नेबारे उनले थप विवरण दिएकी छैनन्।









