सिरहा भदौ १५ नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मंसिर ४ मा हुने चुनाव लड्ने आकांक्षा देखाएका छन् । उनी प्रतिनिधिसभा निर्वाचनमा लड्नका लागि माओवादीसँग निरन्तर छलफलमा रहेका नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य महेश्वर दाहालले घिसिङले माओवादीको तर्फबाट चुनाव लड्नका लागि आकांक्षा राखेको पुष्टि गरे । ‘कुलमान घिसिङले चुनाव लड्न इच्छा राख्नुभएको छ । माओवादीसँग भएको छलफलअनुसार नै अध्यक्ष प्रचण्डले संकेत पनि गर्नुभएको हो ।’
घिसिङले कहाँबाट चुनाव लड्ने भन्नेबारे चाहिँ छलफलकै क्रममा रहेको दाहालले बताए ।
घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने चर्चा चलिरहेको छ । तर दाहालले भने काठमाडौं ३ वा रामेछाप कहाँबाट उठ्ने भन्नेबारे पार्टीले निर्णय गर्न बाँकी रहेको बताए ।
घिसिङको गृहजिल्ला रामेछाप भएकाले त्यहाँ पनि उनको राम्रो प्रभाव रहेको बताइन्छ । घिसिङ माओवादीकै जोडबलमा दोस्रो कार्यकालका लागि विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक भएर गएका थिए । उनी कार्यकाल नसकिँदै प्राधिकरणबाट राजीनामा दिएर चुनाव लड्ने योजनामा लागेका हुन् । घिसिङले भने यसबारे मुख खोलिसकेका छैन ।