जनकपुरधाम । मधेश प्रदेशसभाका नवनिर्वाचित सदस्यले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। मधेश प्रदेशसभा भवनमा आज आयोजित एक समारोहमा ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेसमक्ष उहाँहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नेपालको संविधानको धारा १८२ (५) र प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यबाट नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिने प्रावधान रहेको छ । न्यौपानेले बिहीबार प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए ।
एक सय सात सदस्यीय प्रदेशसभा समस्यमध्ये एकसय छ जनाले पद तथा गोपनीयताको शपथ लिनुपर्नेमा दुई जनाविरुद्ध क्लस्टरको विवादमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण आज एकसय चार जनाले मात्रै शपथग्रहण गरे। क्लष्टरको विवादपछि परेको मुद्दामा सर्वोच्च अदालतबाट तत्काल शपथग्रहण नगराउन आदेश भएकाले माओवादी केन्द्रका तर्फबाट समानुपातिक सांसद मो.रजी हैदर र माला कर्णलाई हाल शपथग्रहण नगराइएको प्रदेशसभा सविच रञ्जितकुमार यादवले जानकारी दिए।
दश वटा दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा)का १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका नौ–नौ, एकीकृत समाजवादीका तर्फबाट सात सांसद रहेका छन् । त्यसैगरी नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट एक–एक जना प्रदेशसभा सदस्य रहेका छन् भने प्रदेशसभामा पाँचजना स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।
सांसदले विभिन्न आठ भाषामा पद तथा गोपनीयताको सपथ प्रहण गर्नुभएको थियो । मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा सपथग्रहण गर्ने पनि सविच यादवले जानकारी दिए।NEWS24Nepal.tv