काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सहकारीको रकम अपलचनबारे बयान लिएको छ। सीआइबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धी बयानमा कागज गराएको हो।
सीआइबी पुगेका गुरुङसँग उनकी पूर्व पत्नि ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण, र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धि सोधपुछ गरेको बताइएको छ। गुरुङकी श्रीमती ज्योति गुरुङ २०५७ साल देखि सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन।
ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको थियो । ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए। धनराज आफैले ज्योतिसँग सम्बन्ध विच्छेद हुँदा ज्योतिले सम्पति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमती भएको बताएका छन्। धनराजले आफू सहकारीका जोडिनु र श्रीमतिसँग भएको सम्बन्धविच्छेदबारे बयान दिएको बुझिएको छ।
सहकारी सम्बन्धी छानबिन गर्न बनेको विषेश समितिले पनि आफनो प्रतिवेदनमा धनराजमाथि छानबिन गर्नु पर्ने राय दिएको थियो। उनको पूर्वपत्नि ज्योति गुरुङ र अर्का आरोपी ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोल मार्फत रेड नोटिस जारी भैसकेको छ। मितेरी सहकारीका संचालक समितिले दिएको उजुरीआधारमा धनराजमाथि छानबिन सुरु भएको हो।