जनकपुरधाम, भदौ ३ गते । जनकपुरधाममा फुटपाथ व्यवसायी र नगरप्रहरीबीच झडप भएको छ ।
जनकपुरधाम स्थित जानकीचोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा झडप भएको हो ।
कृष्णाष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीले लगाएको ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको र सोही क्रममा व्यापारी र नगरप्रहरीबीच झडप भएको जानकी चोकका स्थानीयले बताएका छन् ।
नगरप्रहरीले बल प्रयोग गरेको देख्दा स्थानीय युवाहरू पनि आक्रोशित भएका थिए ।
सोही क्रममा भनाभन भई झडप भएको थियो । नगरप्रहरीले स्थानीय एक ६ वर्षीय बालकमाथि समेत लाठी प्रहार गरेको बताइएको छ ।
झडप भएको खबरपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरी टोलीले जानकी चोकका किशन मण्डल, कन्हैया दास, सुभाष साह, सोनु साहलगायतका ९ जनालाई नियन्त्रणमा लिएको हो ।
जनकपुरधाम उपमहानगरले फुटपाथ खाली गराएपनि व्यववस्थापन नगरेको भन्दै व्यवसायीहरु आन्दोलनमा छन् ।